चितवन राष्ट्रिय निकुञ्जमा मान्छे खाने बाघ नियन्त्रणका लागि टोली
रत्ननगर, चितवन, चैत १३ गते । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए । बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ । सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ । बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुईवटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्...