सिन्धुपाल्चोक - महिला सशक्तीकरणका पक्षमा जनप्रतिनिधि
सिन्धुपाल्चोक – महिला सशक्तीकरणका लागि स्थानीय तहले प्रभावकारी काम गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्घता जनाएका छन्। चौतारा–साँगाचोकगढी नगरपालिकामा आयोजित स्थानीय तहको नीतिपैरवी संवाद कार्यक्रममा बोल्दै प्रमुख अमानसिंह तामाङले महिला अधिकार तथा सशक्तीकरणका लागि कार्यक्रम ल्याउन लागेको जानकारी दिए। उपप्रमुख जानुका पराजुलीले नगरपालिकाले स्थानीयस्तरमै महिलाका निम्ति रोजगारीमूलक कार्यक्रम ल्याउन लागेको बताइन्। महिला उत्थानका लागि समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि आवश्यक सूचना दिन आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने नगरपालिकाको तयारी छ। ‘सूचना, सीप र स्रोतमा महिलाको पहुँच नहुँदा वैदेशिक रोजगारमा गएका महिला बेचबिखन, दुव्र्यवहार आदिको उच्च जोखिममा छन्। सिन्धुपाल्चोकमा भूकम्पपछि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ,’ पराजुलीले भनिन्। स्थानीय सरकारले अब बनाउने नीतिमा महिलाका आर्थिक अधिकार तथा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तरिकाबारे अधिवक्ता मिलन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे। सहभागीले वडास्तरमै वैदेशिक र...