चीन जोड्ने सडकको ट्रयाक खुल्यो
गोरखा — तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । बेनीघाट–लार्के सडकखण्डअन्तर्गत हावाडाँडाबाट सुरु गर्दै तातोपानीसम्म ट्रयाक खोलिएको हो । लार्के सडकखण्डअन्तर्गत लापुबेंसी, न्याउली, खानीबेंसी, माछाखोला र खोर्लाबेंसी हुँदै हाल तातोपानी क्षेत्रमा काम भइरहेको सेनानी निशान्त क्षत्रीले बताए । ‘गएको वैशाखको ११ बाट औपचारिकरूपमा हामीले काम सुरु गरेका हौं,’ उनले भने, ‘हालसम्म १४ किमि क्षेत्रमा काम भइरहेको छ ।’ सडक निर्माणका लागि चालु आर्थिक वर्ष १० करोड रुपैयाँ विनियोजन भएको थियो । राष्ट्रिय गौरवका आयोजनामा परेको उक्त सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको उनले बताए । ‘हावाडाँडादेखि लापुबेंसीसम्मको डेढ किमि सडक सबैभन्दा अप्ठ्यारो थियो, ब्लास्ट गर्दै खोलेका हौं,’ उनले भने, ‘धेरैजसो ठाउँमा कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग नगरी काम गर्न गाह्रो छ ।’ न्याउली खोलादेखि खोर्लाबेंसीसम्मको ९ किमि क्षेत्रको चट्टान फोर्न पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । ‘लापुबेंसी खण्डको केही क्षेत्रमा मात्र...