Posts

Showing posts with the label धनुषा

धनुषामा बम विस्फोट, एक महिला घाइते

महेन्द्रनगर, धनुषा, चैत २२ गते । धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो । धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताउनुभयो । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । रासस

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषा, चैत १५ गते। धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनको गुनासो थियो । पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताउनुभयो । (रासस)

प्रधानाध्यापकमाथि गोली प्रहार

धनुषा, असार ११ गते । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्रोत :रासस