खानेकुरा किन्न दार्जीलिङवासी सीमामा
गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका वासिन्दाले खानेकुराको अभाव भोग्नु परिरहेको बताइएको छ। त्यहाँ खानेकुरा किन्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्। नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ। गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहिबार २९ दिन पुगेको छ। हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले संचय गरेर राखेको खानेकुरा उपभोग गरे। तर हड्ताल निरन्तर चलिरहँदा उनीहरु नेपालका सीमावर्ती क्षेत्रमा खानेकुरा खरिद गर्न आउन थालेका हुन्। इलामको पशुपतिनगर, मानेभन्ज्याङ लगायत क्षेत्रका खानेकुरा पाइने पसलहरुमा अचेल दार्जीलिङका नेपालीभाषीहरुको घुईंचो छ। पशुपतिनगर बजारको एउटा किराना पसलमा भेटिएका उनीहरुमध्ये दार्जीलिङ नाला गाउँबाट चार घण्टा हिँडेर पशुपतिनगर आएका प्रणेश क्षेत्रीले आफ्नो गाउंमा खानेकुराको संकट निकै गहिरिँदै गएको बताए । त्यस्तै अर्को पसलमा चामल, दाल लगायत बस्तु खरिद गर्दै गरेका दार्जीलिङ पोख्र...