'मलेसियामा सय भन्दा बढी नेपाली पक्राउ'




मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको 'दर्ता कार्यक्रम' सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ ।

गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् ।

देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।



मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेब्रुअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गरिरहेको छ।

दर्ता

सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई 'इन्फोर्समेन्ट कार्ड' निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो ।

तर उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा हजारभन्दा बढी आप्रवासीहरु पक्राउ परिसकेका छ। ती मध्ये सयभन्दा बढी नेपाली पनि रहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पक्राउ पर्नेमा अधिकांश नेपालीहरु छन् ।

आप्रवासी कामदारका होस्टल, उनीहरु जमघट हुने एवं लुकेर बसेको हुनसक्ने ठानिएका स्थानहरु धरपकडको निशानामा परेका छन् ।

चिन्तित

नेपालीको प्रमुख रोजगार गन्तव्यमध्येको एक मलेसियाले हालै संचालन गरेको धरपकड अभियानका कारण गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारहरु चिन्तित छन् ।

नेपाली दूतावासका उपनियोग प्रमुख कुमारराज खरेलले त्यस्ता नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन र आवश्यक प्रक्रिया मिलाई स्वदेश फर्कन आग्रह गरे ।

स्वदेश फर्कन चाहनेले दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागलाई उसले तोकेको जरिवाना र विशेष पासको शुल्क तिरेर स्वदेश फिर्न सकिने समेत उनले बताए ।

नेपाली दूतावासका अनुसार मलेसियामा वैधानिक रुपमा करिब ४ लाख ८५ हजार नेपालीहरु कार्यरत छन् ।

ती बाहेक हजारौं नेपालीहरु अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

जनचेतना

त्यस्ता नेपाली कामदारलाई यसबारे जानकारी गराउन छिट्टै जनचेतनामूलक कार्यक्रम गर्ने दूतावासले तयारी गरिरहेको खरेलले जानकारी दिए ।

विभिन्न मुलुकका गरी करिब २० लाख वैधानिक आप्रवासी कामदार कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा अवैधानिक कामदार रहेका अनुमान गरिएको छ, जुन ठुलै समस्याको रुपमा देखिएको छ ।

रोजगारदाताले चाहिं अहिले शुरु गरिएको धरपकडप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त विकल्प ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

रोजगारदाता सम्बद्ध संघसंस्था एवं सरोकारवालाहरुले विदेशी कामदारहरु दर्ता गर्ने म्याद थप्न गरेको आग्रहलाई सरकारले अस्वीकार गरिदिएको छ, यद्यपि उनीहरु सरकारले विकल्प खोज्नेमा अझैपनि आशावादी देखिन्छन् ।



Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप