पाँचबुँदे सहमति पछि डा. केसीले अनशन तोड्नुभयो

काठमाडौँ, पुस २९ गते । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोड्नु भएको छ ।

पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोड्नुभएको हो ।

उहाँले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने बताउनुभयो । स्वास्थ्यमन्त्री दीपक बोहरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वणिम वाग्ले सम्मिलित टोली र डा केसीका पक्षका अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह, डा सुमन आचार्यको टोलीले वार्ता गरी पाँच बुँदे सहमति गरेको थियो ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले डां केसीले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार आइओएमका डीनमा प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो ।

गत आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशी शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायसंगत नभएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनशन शुरू गर्नुभएको थियो । २९ पुस (रासस)

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड