दिपक मनाङेले थानकोट काटे, पक्राउ गर्न प्रहरी टोली पछिपछि

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् ।
महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् ।

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो ।

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ ।

पक्राउ पर्ने निश्चित भएपछि मनाङेले काठमाडाैं छाडेका छन् । मनाङबाट सांसद बनेका मनाङे केहिदिन अघिसम्म काठमाडाैं रहे पनि अहिले फरार भएकाे प्रहरीकाे अनुमान छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप