बाजुरामा किशोरी बलात्कृत - घटना सार्वजनिक गरे ज्यानको धम्की

बाजुरा — कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन्
बलात्कारमा संलग्न भएको आरोपमा बूढीगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय सुनील विकविरुद्ध पीडितका अभिभावकले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित किशोरीका बुवाले युवाहरूको पक्षले घटना मिलाउन दबाब दिइरहेको बताएका छन । ‘घटना नमिलाए मार्दिन्छौं भनेर धम्क्याउँदै छन्,’ उनले भने, ‘गाउँबाट उजुरीका लागि सदरमुकाम मार्तडी जाने बेला युवाहरूका पक्षका गाउँलेहरूले घेराबन्दी गर्न खोजे तर छलेर मार्तडी पुग्यौं ।’

पीडित किशोरी दिउँसोतिर घरबाट नजिकैको बेतालमाण्डौ बजारमा सामान किन्न जाँदै गरेका बेला युवाहरूले मोटरसाइकलमा राखेर बार्जुगाढको जंगलमा पुर्‍याएर बलात्कार गरेको किशोरीका बुवाले बताएका छन् ।

‘मेरो दाजुको नाम बताउँदै तिमी उसैको बहिनी होइनौ ? हामी तिमीलाई चिन्छौं । बाइकमा पुर्‍याइदिन्छौं भनेर जिद्दी गरे,’ पीडित किशोरीले भनिन्, ‘छिटो पुगिने आशाले बाइकमा बसें । बेतालमाण्डौ बजार देखिने बित्तिकै झार्दिनुस् भनें, तर बाइक हुइँक्याएर बार्जुगाढ पुर्‍याए ।’ अर्कै बाटोतिर लागेपछि आफू डराएर रुन थालेको ती किशोरीले बताइन् । ती युवाहरूले आफूलाई बार्जुगाड खोलाको पारि जंगल छेउमा बाइक रोकेर चन्द्र विष्टले घिसारेर जंगलमा पुर्‍याएको बताउँदै उनले भनिन्, ‘सुनीलले दुवै हात समाते, चन्द्र विष्टले मुख छोपी जबरजस्ती करणी गरे । जंगल भएकाले मैले रोए कराएको सुन्ने मान्छे कोही भएन ।’ उनीहरूले कसैलाई भने चक्कु हानेर मार्दिन्छौं भनी धम्काएको बताइन् । बलात्कारपछि देवस्थलीमा रहेको एक होटलको कोठामा लिएर सुनील विकले कालो देखिने (चरेस, भाँगो) चुरोटमा भरेर तान्न दबाब दिए पनि आफूले खान नमानेपछि चुरोटको ठुटोले सुरुवाल पोलेको उनले बताइन् । ‘कराउन खोज्दा नजिकै रहेको ग्यास सिलिन्डर उडाएर मारिदिन्छु, यहाँ सबै हाम्रै मान्छेहुन् कोही तेरो सुन्नेवाला छैन भनेर धम्क्याए,’ उनले भनिन् । किशोरीको जिल्ला अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको छ ।

‘ल्याब रिपोर्ट आएको छैन,’

अस्पतालका डा. रूपचन्द्र विश्वकर्माले भने, ‘किशोरीको अनुहारमा चोट लागेको थियो ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले आरोपितहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड