धूमपानबाट बर्सेनी २५ हजार नेपालीको मृत्यु

काठमाडौँ, वैशाख ३ गते ।

नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरेको छ । नेपालमा नसर्ने रोगको तथ्याङ्क ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले यो ६५ प्रतिशत पुग्दा धूमपानबाट २५ हजार नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।

नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तिजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन् । विश्वमा सूर्तिजन्य पदार्थबाटै बर्सेनी ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तिजन्य पदार्थसम्बन्धी ऐनलाई कडाइसाथ कार्यान्वयनमा ल्याउन सके मात्रै पनि त्यसबाट हुने हानि घटाउन सकिने बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, हृदयरोग लगायत समस्या निम्तिनुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

सूर्ति नियन्त्रण अभियन्ता तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागू भए पनि कार्यान्वयनको पक्ष फितलो रहेको बताउनुभयो । उहाँले नेपालमा कडा कानुन भए पनि कार्यान्वयन नभएको दाबी गर्नुभयो ।

२०७१ सालमा सूर्तिजन्य पदार्थमा नेपालले उत्कृष्ट कानुन बनाएबापत एक करोड रुपियाँको ग्लोबल टोबाको कन्ट्रोल अवार्डसमेत हात पारेको थियो । बमले नेपालमा राजस्व कार्यालयले कडाइ गर्ने बित्तिकै सूर्तिजन्य पदार्थ नियन्त्रण ऐनको प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले सूर्तिजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामी बढिरहेको बताउनुभयो । धूमपानविरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाहीँ चुरोट सेवन गर्ने मानिसलाई पनि हृदयाघातको समस्या हुन सक्ने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तिजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड