मणिलेक क्याम्पसमा तालाबन्दीमाथी ताला

बैतडी,२६ चैत-

बैतडीको मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा लगाएको ताला अझै खुल्न सकेको छैन् । गएको २६ महिनादेखि तलब नपाएको भन्दै चैत १५ गते शिक्षक कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।

शिक्षक कर्मचारीहरुले गरेको तालाबन्दी कायमै रहेका बेला पढाई सुचारु हुनुपर्ने माग गर्दै विद्यार्थीका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनले पनि आजदेखि तालाबन्दी गरेको छ । आफूहरुको पढ्न पाउने अधिकार कुण्ठित भएकाले पढाई सुचारु गर्नुपर्ने भन्दै तालाबन्दी गरेको स्ववियु सभापति केशवबहादुर चन्दले जानकारी दिनुभयो ।

हिजो प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको उपस्थितीमा भएको बैठकले तत्काल क्याम्पसको ताला खोली समस्या समाधान गर्न आग्रह गरेको भएपनि शिक्षक कर्मचारीहरुले तलब नपाउँदा सम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । यता विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि खेलवाड भएको भन्दै क्याम्पसमा निर्माण भईरहेको भवन निर्माण कार्य समेत रोकेका छन् ।

क्याम्पसका शिक्षक कर्मचारीहरुको तलबका लागि चन्दा संकलन गर्न सहयोग समिति गठन गरिएको भएपनि तालाबन्दी खुलेको छैन् । क्याम्पसमा तालाबन्दी हुँदा पठनपाठन ठप्प भएको छ । यसैबीच मेलौली नगरपालिकामा गरिएको तालाबन्दी भने खुलेको छ । मेलौली अस्पताल भवन निर्माणको बिषयमा स्थानीयहरुबीच विवाद भएपछि एक पक्षले नगरपालिकामा तालाबन्दी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको रहोबरमा बसेको बैठकले विवादका बिषयमा छलफल गरि टुंगो लगाएपछि मात्रै अस्पताल निर्माणको बिषयलाई उठान गर्ने सहमतिपछि तालाबन्दी खोलिएको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो ।

आफूहरुले आगामी वैशाख ५ गतेभित्र आफ्ना माग पूरा नगरे फेरी संघर्षका कार्यक्रम गर्ने विज्ञप्ती मार्फत जनाएको छ ।

यो बिषयमा नगरप्रमुख कृष्णसिंह नायकले नगरपालिकाको वडा नं १ बिट्ठेनीमा ५ शैइयाको अस्पताल निर्माण गर्ने र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई थप स्तरोन्नती गर्ने नगरकार्यपालिकाले निर्णय गरेको बताउनुभयो । अस्पताल नै सार्न लागेको गलत हल्ला भएको उहाँले बताउनुभयो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप