छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी
असार १६, २०७४- अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर उनी स्कुल आउँछिन् । छोरालाई नर्सरी कक्षामा छाडेपछि प्रार्थनाको लाइनमा पुग्छिन् । मध्यान्न टिफिन समयमा छोरालाई दूध चुसाउँछिन्, खाजा खुवाउँछिन् । फुर्सद भयो भने साथीहरूसँग खेल्न पनि भ्याउँछिन् कहिलेकाहीं । पाँचौं पिरियडपछि छोराको छुट्टी हुन्छ, त्यसैले छैटौं र सातौं पिरियड छोरालाई काखमै राखेर पढछिन् । सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । उनको तीन वर्षीय छोरा रिदम पनि सँगै छन् । आमा ९ कक्षामा पढछिन् भने छोरा रिदम नर्सरीमा । बिहान १० नबज्दै र दिउँसो ४ बजेपछि दुईवटा झोला दुईपट्टि, पिठ्युँमा छोरा बोकेर स्कुल आउनु र डेरामा फर्कनु उनको दैनिकी हो । साबिक मराङ गाविसस्थित जनविकास माविमा ८ कक्षा पढदै गर्दा १४ वर्षको उमेरमा उनको परिवारले पल्लो गाउँ साबिक रुम...